NEB Class 11 Nepali Question Paper 2078
दिइएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र प्राणत्व छुट्याई लेख्नुहोस्।
योगमाया लैङ्गिक विभेदको पनि कट्टर विरोधी थिइन्। उनी बालविवाहको विपक्षमा उभिन्थिन् तर स्वैच्छिक विधवा विवाहको समर्थन गर्थिन्।
(रेखाङ्कित वर्णहरू: योग, विधवह आदि)
शुद्ध गरी पुनर्लेखन गर्नुहोस्:
हेर्नुस् बद्रीजी हामीले खेतमा राशायनिक मल र विषादिको प्रयोग गर्यौं। वालीको ऊत्पादन बढाउने काममा साथीहरूले तपाई सँग सल्लाह मागेका छन्।
अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस्।
आज उनले मलाई धेरै कुराहरू सोधे। उनले सोधेका कुराहरूमध्ये खासै धेरै बुझिनँ। मैले केमा कुरा भयो भन्ने पनि राम्ररी बुझिनँ। उनले मलाई फोनबाट बाँकी कुरा सुनाए।
दिइएको अनुच्छेदबाट दुई-दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्।
क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, कठोर, दुर्गम पहाडको क्षीण पथलाई नजरले भेटेसम्म हेर्दा मान्छे पो हो कि भन्ने भ्रम पार्ने एउटा धब्बा जस्तो पनि केही देखिएन।
दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस्।
व्यवहार, अंश, त्रास, ज्ञान
दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्।
हिजोभन्दा आज हरेक सङ्क्रामक रोगको उपचार खोपद्वारा सम्भव हुँदै गएको छ। देशमा कुपोषणबाट मृत्यु हुने बालबालिकाहरूको तथ्याङ्क सार्वजनिक गरिएको अभिलेखबाट थाहा पाउन सकिन्छ।
अथवा
दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्:
हुने बिरुवाको चिल्लो पात भने झैं सबै साथीलाई मेख मार्दै परीक्षामा प्राप्त गरेको स्वप्निलको सफलताबाट उसका अभिभावक खुसीले गद्गद् भए। अकबरी सुनलाई कसी लगाउनु पर्दैन भन्दै मेधावी विद्यार्थी स्वप्निलले सबैको नाक राखेकामा आफूलाई धेरै खुसी लागेको कुरा विद्यालयका प्रधानाध्यापकले मुसुमुसु हाँस्दै सबैलाई बताए।
अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस्।
प्रमुख राजनीतिक दलहरूले गैरजिम्मेवार बनेर मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन। दलीय कर्तव्य र राष्ट्रिय जिम्मेवारीलाई बुझेर सकेसम्म चाँडै नै निकास दिने काममा केन्द्रित हुनु आवश्यक छ।
अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस्।
देशहितमा लागेका पीताम्बर र नीलकण्ठ आआफ्नो कर्तव्य पूरा गर्दै गाउँबस्तीको उन्नतिमा मनवचनकर्मले लागेका छन्। एकअर्कामा सरसहयोग र मरमद्दत गर्ने अनि सुखदुःखमा साथ दिन उनीहरूको आनीबानीको छरछिमेकमा मुक्तकण्ठले प्रशंसा हुने गरेको छ।
दिइएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्।
उनले गद्य शैलीमा कविता लेखे। त्यस कवितालाई मेरी माइजूले मन पराउनुभयो। काकी र फुपूले कविता वाचन गरेर सुनाउने इच्छा गर्नुभयो। मैले पनि उहाँहरूसँगै कविता वाचन गरेर सुनाएकी थिएँ।
दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्।
मैले गाउँमा पुरानो साथीलाई भेटें। हामीले चराहरू र जलचरहरूका बारेमा धेरै बेर कुरा गर्यौं। साथीले आफ्नो प्रगतिको कथा सुनायो। उसका कुरा सुनेर मेरा साथीहरू दङ्ग परे।
तलका गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस्।
प्रतिभाशाली रमा नियमित विद्यालय जान्छे। पढाइका साथै खेलकुदमा पनि रुचि राख्छे। हिजो गुरुले पुरस्कार पनि दिनुभयो। साथीहरूले पनि उसको तारिफ गरे।
अथवा
दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्:
मेरो आमा पहाडमा बस्छिन्। ऊ असल हुनुहुन्छ। त्यहाँबाट अग्लो हिमालहरू हेर्न पाइन्छ। तिमी पनि हिमाल हेर्न आएको छ।
दिइएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस्।
उनीहरू सधैँ पुस्तक प्रदर्शनीमा जान्छन्। सबैले केही पुस्तकहरू किन्छन्। भिडभाडमा केही पनि खाँदैनन्। उनीहरूलाई कत्ति थकाइ लाग्दैन।
अथवा
दिइएका वाक्यहरूलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्:
(अ) मलाई दुई दिन बस्न राजनले आग्रह गर्यो।
(आ) तिमीले मलाई भन्यौ, "हामी पनि जाऔंला।"
(इ) साथीले त्यतिखेर के काम गर्नु छ भनी प्रश्न गरे।
(ई) हामीले भन्यौं, "उनीहरू चाँडै आउँछन्।"
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर लेख्नुहोस्।
जलका विभिन्न स्वरूप हुन्छन्। पग्लिने, अग्लिने र उड्न सक्ने क्षमता पानीमा हुन्छ। हिउँ पग्लिएर नदी बन्द, नदीको पानी बाफ बन्छ र हिमालका थाप्लामा हिउँ जम्छ। ... यस्तो महत्त्वपूर्ण चमत्कारी पानी सदुपयोग गरे बन्दछ सुखी जिन्दगानी, दुरुपयोग भए दुःखमै बित्छ जिन्दगानी। ... जलस्रोतमा धनी राष्ट्र भए पनि दिगो पूर्वाधार विकासका योजनाका अभावले गर्दा हामी स्रोत र साधन भए पनि अँध्यारोमा बस्न बाध्य छौँ। ... कर्णालीमा जलविहार, कोसी र तामाकोसीमा सिँचाइका उचित व्यवस्थापन गरेर धर्ती उर्वरा बनाउन सक्छौँ।
प्रश्नहरू:
(क) पानीलाई महत्त्वपूर्ण चमत्कारी किन भनिएको हो?
(ख) जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ?
(ग) धर्तीलाई उर्वरा बनाउने आधारहरू के के हुन्?
(घ) राष्ट्र निर्माणमा सिँचाइको कस्तो भूमिका हुन्छ होला?
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।
मुलुकमा रहेको बेरोजगार एवम् अनुत्पादक श्रम शक्तिलाई उनीहरूको योग्यता, सिप तथा दक्षता अनुरूप अन्य विभिन्न मुलुकमा रोजगारीका लागि पठाई उनीहरूमार्फत वैदेशिक विप्रेषण आय, सिप, प्रविधि र अनुभव स्वदेशमा भित्र्याइन्छ। ... दक्ष कामदार १.५ प्रतिशत, २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष जनशक्ति विदेशिने हुँदा नेपालले यसबाट पूर्ण लाभ लिन सकिरहेको छैन। ... मुलुकभित्रै कृषि क्षेत्रको आधुनिकीकरण एवम् व्यवसायीकरण, उद्योग क्षेत्रको विकास र विस्तार तथा विविध स्वरोजगारीका अवसर सिर्जनामार्फत बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गरी दक्ष एवम् सिपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा परिचालन गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरेमा नेपालले आर्थिक विकासमा अधिकतम लाभ लिन सकिन्छ।
प्रश्नहरू:
(क) विप्रेषण शब्दको अर्थ कुन हो? (अ) रेमिट्यान्स (आ) तलब (इ) रोजगारी (ई) आम्दानी
(ख) नेपालको अर्थतन्त्रका आन्तरिक पक्षहरू के के हुन्? (अ) व्यापार र जडीबुटी (आ) यातायात र शिक्षा (इ) स्वास्थ्य र रोजगार (ई) कृषि र उद्योग
(ग) विकासको दीर्घकालीन स्रोत के हो? (अ) वैदेशिक रोजगारी (आ) सुरक्षित लगानी (इ) कृषिको आधुनिकीकरण (ई) श्रम स्वीकृति
(घ) '...कतार, मलेसिया, बहराइन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेत रहेका छन्।' भन्ने वाक्यमा 'गन्तव्य' कस्तो शब्द हो? (अ) उपसर्ग व्युत्पन्न (आ) प्रत्यय व्युत्पन्न (इ) समस्त शब्द (ई) द्वित्व शब्द
अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तृतीयांशमा सारांश गर्नुहोस्।
हाम्रो समाज मूर्त र अमूर्त संस्कृतिको मिश्रण हो। हाम्रा गाउँ तथा सहरमा प्राचीन सभ्यताका धरोहर यत्रतत्र छन्। साकेला, चासोक, च्याब्रुङ र धान नाचमा रमाउने मन हुड्केली, सोरठी र मारुनीमा त्यत्तिकै रमाउँछ। ... शास्त्रीय र लोक नृत्य, गीत र वादनमा हाम्रा अनन्य सम्पदा छन्। ... यहाँ भाषाको भण्डार छ। संस्कार, रीतिरिवाज र परम्पराका पारखीहरू हाम्रा गाउँमा भुल्छन्, सहरमा रमाउँछन्। खानपान र पहिरनमा जातीय, क्षेत्रीय र सामुदायिक विविधता छन्। मन्दिर, विहार, मस्जिद, गिर्जाघर, गुरुद्वारा, थान र मार्गस्थानहरू हाम्रा आस्थाका केन्द्र हुन्। हामी भाषा, धर्म, संस्कृति र परम्परामा बहुल छौँ तर आपसमा सहिष्णु छौँ। यो नै विश्वमा हाम्रो अनुपम पहिचान हो।
कुनै एक प्रश्नको उत्तर दिनुहोस्।
(क) स्थानीय स्वास्थ्य केन्द्रले सर्वसाधारण जनतालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन जारी गर्ने सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस्।
(ख) कसैको शुभ विवाहका अवसरमा आफन्तजनहरूलाई आमन्त्रण गर्न दिइने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस्।
कुनै एक प्रश्नको उत्तर दिनुहोस्।
(क) आफ्नो विद्यालयको वार्षिकोत्सवको सन्दर्भमा आयोजित विविध कार्यक्रमलाई समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस्।
(ख) 'राष्ट्रनिर्माणमा नागरिकको भूमिका' विषयमा १५० शब्दसम्मको वक्तृता तयार पार्नुहोस्।
महिलामाथि हुने हिंसालाई कसरी नियन्त्रण गर्न सकिएला? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस्।
दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
कुन पहाडले कुन खोलाले तिम्रो गति छेक्यो र वीर पुर्खा! कुन आँधीले तिम्रो यात्रा रोक्यो र गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल! पहाड तराई जुट्न सक्यो।
प्रश्नहरू:
(अ) नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो?
(आ) हाम्रा वीरपुर्खाको गौरव गाथालाई कविताको आधारमा वर्णन गर्नुहोस्।
दिइएको नाट्यांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस्।
ठिक भन्नुभो बाबा। सन्तानको सुख र शिक्षाका लागि भन्दै म रातदिन खटिएँ तर मैले मेरो छोरालाई समय दिइनँ। उससँग बसेर उसको पढाइका बारेमा कुरा गरिनँ। उसका साथी को को छन् भनेर कहिल्यै सोधखोज गरिनँ। ऊ कहाँ गयो, के गर्यो, के खायो भनेर ख्याल गरिनँ। म त खालि मेरो व्यवसाय, बैठक आदि भन्दै दौडधुप गरिरहेँ। उसले मागे जति पैसा दिइरहेँ तर ऊ त धेरै पहिलेदेखि दुर्व्यसनको सिकार भइसकेको रहेछ र आज मैले यो दिन भोग्नुपर्यो।
प्रश्नहरू:
(अ) यस नाट्यांशमा वक्ताले आफ्ना कस्ता कमजोरी रहेको स्विकारेका छन्?
(आ) यस नाट्यांशमा व्यक्त समस्या कसरी समाधान गर्न सकिएला?
दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
विहङ्गम दृष्टिले विचार गर्दा सम्पूर्ण पृथ्वी एउटा घर हो, गृह हो। यहाँ जल, स्थल, वायु, आकाश र तेज (प्रकाश) यी पाँच तत्त्व (पञ्चतत्त्व) का बिच जलचर, स्थलचर, नभचर र सबै चराचर आफ्नो जीवन बिताउँदछन्। पृथ्वीलाई छोडेर अन्य ग्रहमा जीवात्माको अस्तित्व भेटिएको छैन। ... पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व सङ्कटमा पर्छ। हालका दिनमा जलवायु परिवर्तनका विषयमा विशेष गरेर वायुमण्डल प्रदूषणका कारण पृथ्वी सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर विशेष चिन्ता र चासो हाम्रो सामु तेर्सिएको छ।
प्रश्नहरू:
(अ) पृथ्वी कसरी सबैको साझा घर हुनसक्दछ?
(आ) पृथ्वीको तात्ने क्रमलाई रोक्न के गर्न सकिन्छ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस्।
(क) सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस्।
(ख) 'गाउँको माया' कथामा कस्तो समाजको चित्रण गरिएको छ, समीक्षात्मक उत्तर लेख्नुहोस्।
दिइएका मध्ये कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस्।
(क) नेपालमा जलस्रोतको सम्भावना
(ख) युवा र स्वरोजगार
(ग) मेरो देश : मेरो कर्मभूमि