NEB Class 12 Compulsory Nepali Question Paper 2081 (Set C)
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् :
नेपालको सर्वाङ्गीण विकासका लागि नेपाली साधनस्रोतमा उद्योग खोल्नुपर्छ। त्यस्ता उद्योगबाट उत्पादित सामान मात्रै हामीले यत्रतत्र निर्यात गर्न सक्छौँ भन्ने ज्ञान प्राप्त भयो।
(रेखाङ्कित शब्दहरू: सर्वाङ्गीण, यत्रतत्र, ज्ञान)
दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
शीवनारान षभ्यताको मर्यादा राख्थे आफ्नो घरमा आउने मानिसलाई स्वागत र सत्कार गर्ने वानी भएकाले उनले साथी को पनि सत्कार गरे।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् : नयाँ संविधान जारी भएपछि त्यसअनुसार पुराना ऐन पनि फटाफट संशोधन हुँदै छन्। कानुनी राज र विधिको शासन भएन भने शासनप्रतिको जनताको विश्वास हवात्तै घट्छ।
अथवा
(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् : कोरोना जस्तो भाइरसको आक्रमणमा परी कैयौँ मान्छे जिब्रो टोकेपछि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेझैँ हामी सामान्य ज्वरो र रुघाखोकीमा पनि तर्सिने भइसकेका छौँ। हुन त कोरोनाले ग्रस्त बनाएकालाई आफू नमरी स्वर्ग देखिँदैन भने जस्तै विश्वास नहोला तर पनि महामारी र सङ्क्रामक रोगका बारेमा सबैले कान ठाडो पार्नु नै पर्छ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
तपाईंले मलाई बोलाउनुभएको सुनेको भए म पहिले नै यहाँ आउने थिएँ। नसुनेकाले दिदीको घर गएको हुँ। अब ढिलै भए पनि केही बेर बसेर कुराकानी गरौँला, हुन्न र?
(रेखाङ्कित शब्दहरू: तपाईंले, पहिले, गएको, कुराकानी)
तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
यस पटक श्रीपञ्चमी र प्रणय दिवस एकैदिन परेका थिए। त्यसो भए पनि केटाकेटी कलेजमा पूजामा जानुपर्छ भन्दै घरबाट मोटरसाइकल लिएर पार्क र रेस्टुरेन्टतिर गएको भने सुनिएन। यो सकारात्मक कुरा हो।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् : नेपालको संविधानले हामी सबै नागरिकलाई बोल्ने स्वतन्त्रता प्रदान गरेको छ। जनताले सुयोग्य प्रतिनिधि छान्ने मत दिने अधिकारको व्यवस्था गरेको छ। संविधानमा नागरिकका मौलिक हकको संरक्षणको कानुनी दायित्व पनि उल्लेख गरिएको छ।
अथवा
(ख) दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् : ससाना बालबालिकाले आफ्नो कर्तव्य पूरा गरेका छन्। ठुलठुला महर्षि पनि वनबास गएर चित्तशुद्धिमा रमाएका छन्। हरिदिन लोभलालचमा फस्ने मानिसले समाजमा घरैघर ठह्र्याएर भैभगडा निम्त्याएको भेटिन्छ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) रेखाङ्कित शब्दहरूको कारक पहिचान गरी लेख्नुहोस् : दाजु पोखरादेखि बसबाट आउनुभयो। उहाँले भाइलाई सुन्तला दिनुभयो। आफ्नै खेतबारीमा फलेका सुन्तला उपहार पाउँदा भाइ 'मख्ख' पर्यो। हामीले पनि आफ्नो खेतबारीलाई मलिलो बनाउनुपर्छ र ठाउँअनुसारको उत्पादन गर्नुपर्छ।
अथवा
(ख) दिइएको अनुच्छेदमा दिइएका वाक्यहरूलाई बहुवचनमा परिवर्तन गर्नुहोस् : म यसपालि मुक्तिनाथ घुम्न जान्छु। म त्यहाँको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको आनन्द लिन्छु। म त्यहाँ पाइने वनस्पतिका बारेमा जानकारी लिन्छु। म चार दिनको यात्रापछि घर फर्कन्छु।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) पूर्ण वर्तमान कालका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा पढेको कुनै पाठको वर्णन गर्नुहोस्।
अथवा
(ख) दिइएको अनुच्छेदका वाक्यहरूलाई करणमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् : ऊ कहिल्यै गृहकार्य गर्दैन। उसको त्यो बानी धेरैलाई मन पर्दैन। ऊ धेरैको नजरमा राम्रो छैन। शिक्षकले उसलाई माया गर्नुहुन्न।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदमा रहेका चारओटा सरल वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् : हामी नेपाली परिश्रमी छौँ। हामी स्वाभिमानी र इमानदार छौँ। हामी आत्मनिर्भर हुन चाहन्छौँ। हामी आफ्नो देश आफै बनाउँछौँ।
अथवा
(ख) दिइएका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् : उमेशले देशको अवस्था सुधार्ने चाहना रहेको कुरा साथीसँग गर्यो। त्यसका लागि विदेशी भूमि त्याहेर नेपाल आउने प्रसङ्ग उसले कोट्यायो। उमेशको कुरा सार्थक पनि अरू आफ्नो पासपोर्टको लाइन नबस्ने कुरा गर्यो। उमेशले अरू आफू नेपालकै सेवामा समर्पित हुन बतायो।
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
लोकतन्त्र र मानव अधिकार एउटै सिक्काका दुईओटा पाटा हुन्। मानव अधिकार नभएका लोकतन्त्र अपाङ्ग हुन्छ भने लोकतन्त्र नभएको मानव अधिकार फोस्रो नारा मात्र हुन्छ। मानव अधिकार केवल लोकतान्त्रिक शासन व्यवस्थामा मात्रै पाउन सक्छन्। मानव अधिकारको प्रत्याभूति केवल लोकतान्त्रिक शासन व्यवस्थाले मात्र दिन सक्छ। प्रत्येक नागरिकको आधारभूत मानव अधिकारको प्रत्याभूति लोकतान्त्रिक शासन व्यवस्थाको पहिलो सर्त हो। यस्ता अधिकारलाई जनताका मौलिक अधिकार भनिन्छ। कानुनले सम्पूर्ण नागरिकमाथि क्षेत्र, वर्ण, जात, धर्म, लिङ्ग, विचार वा यस्तै अन्य कुनै कारणले विभेद नगरी सबै जनतालाई समान व्यवहार गर्छ। विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हात-हतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रता, सङ्घ संस्था खोल्ने स्वतन्त्रता, मुलुकभर आवत-जावत गर्ने र बसोबास गर्ने स्वतन्त्रता, कुनै पेसा रोजगार, उद्योग/व्यापार गर्ने जस्ता स्वतन्त्रताका हक अधिकारहरू लोकतान्त्रिक शासन व्यवस्थामा जनतालाई दिइएका हुन्छन्। छापाखाना र प्रकाशनसम्बन्धी अधिकार, सूचना प्राप्त गर्ने अधिकार, सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र बेचबिखन गर्ने अधिकार, आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण र संवर्धन गर्ने अधिकार पनि जनताले पाउनुपर्ने अधिकार हुन्। धर्मसम्बन्धी हक, शोषण विरूद्धको हक र संवैधानिक उपचारको हकसम्बन्धी अधिकार पनि लोकतन्त्रमा जनताले प्राप्त गरेका हुन्छन्। लोकतान्त्रिक मुलुकमा जनताले यी आधारभूत मानव अधिकारको प्रत्याभूति गरेका हुन्छन् र त्यो प्रत्याभूति देशको मूल कानुन वा संविधानले प्रष्टसँग उल्लेख गरिएको हुन्छ।
प्रश्नहरू: (क) लोकतन्त्र र मानव अधिकारबिच कस्तो सम्बन्ध हुन्छ? (ख) लोकतान्त्रिक शासन व्यवस्थाको पहिलो सर्त के हो? (ग) लोकतन्त्रमा जनताले कुन कुन क्षेत्रमा स्वतन्त्रता पाएका हुन्छन्? (घ) जनताले लोकतन्त्रमा पाउनुपर्ने अधिकार के के हुन्? (ङ) लोकतान्त्रिक मुलुकमा मानव अधिकारको प्रत्याभूति कसरी गरिएको हुन्छ?
दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् :
सूचना र प्रविधिको विकास भएसँगै मानव जीवनलाई धेरै सहज र सजिलो भएको छ। यसले सबैभन्दा मुख्य कुरा समय र भौतिक दूरीलाई मेटाउँदै छ। यसबाट शिक्षा, सिप, ज्ञान र सूचना आदानप्रदान गर्न अति नै सजिलो भएको छ। विश्वभरि फैलिएको ज्ञानको भण्डारका रूपमा रहेका पुस्तक, पत्रिका आदिलाई क्षणभरमै हेर्न, पढ्न, छाप्न र सुन्न सम्भव भएको छ। यसले यातायातमा हुने खर्च र समयलाई बचाएको छ। कसैले व्यक्त गरेका विचार वा सन्देश तुरुन्तै विश्वभरि फैलाउन सकिने भएको छ। यसैका माध्यमबाट उद्योगी र व्यवसायीहरूले आफ्नो उत्पादन विश्वबजारमा पुर्याउन थालेका छन्। प्रविधिकै माध्यमबाट घरमै बसीबसी ग्राहकले खाद्य पदार्थलगायत विविध सामान सहजै प्राप्त गर्न सक्छन्। कुनै पनि ठाउँमा बसेर विश्वका जुनसुकै सामान पनि खरिद गर्न सकिन्छ। सूचना र प्रविधिको प्रयोगबाट सरकारले जनतालाई प्रभावकारी सेवा द्रुत गतिमा दिन सक्छ। शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापार, उद्योगधन्दा, राज्य व्यवस्थापन, सुशासन, आमसञ्चार, मानव स्रोतको विकास, योजना तर्जुमा आदि अनेकौँ क्षेत्रमा सूचना र प्रविधिको प्रयोग गरी जनजीवनलाई सहज बनाउनेतर्फ उल्लेख्य उपलब्धि भएको पाइन्छ। सूचना र प्रविधिको सदुपयोगले मानव जीवनलाई सकारात्मक प्रभाव पार्दछ भने यसको दुरुपयोगले धेरै नकारात्मक असर पैदा गर्दछ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) युवाहरूको विदेश पलायन रोक्न अपनाउनुपर्ने उपायहरूका बारेमा उल्लेख गर्दै गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादकलाई चिठी लेख्नुहोस्। (मानौँ तपाईंको नाम प्रकृति दाहाल हो।)
अथवा
(ख) विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सव मनाउन गरेको बैठकको निर्णय तयार गर्नुहोस्।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) आफूसमेत सहभागी भएको शैक्षिक भ्रमणका कुराहरू समेटी १५० शब्दसम्मको एउटा प्रतिवेदन तयार पार्नुहोस्। (मानौँ तपाईंको विद्यालयको नाम भानुभक्त मावि र तपाईंको नाम साकार हो।)
अथवा
(ख) 'दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धिले पारेको असर' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस्।
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
(क) मर्नैपर्छ भने पनि पर पुगी मरौँ नभुक्ने यो हिमालमा किन भुकी मरौँ।
अथवा
(ख) जीवन एउटा नटुङ्गिदो यात्रा रहेछ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : हामीले विकल्प खोज्नुपर्छ। सबैले उही काम गरेर हुँदैन। हाम्रा आवश्यकता असीमित छन्। तिनको परिपूर्तिका लागि विविधता आवश्यक हुन्छ तर नगर्नुभन्दा केही गर्नु राम्रो हो। 'देखासिकी गरी खा आरिसे मरी जा' भन्ने उखान पनि छ। जहाँसम्म हाम्रो जस्तो उद्योगको कुरा छ, त्यसमा भने अहिले कति पनि काम भएकै छैन। हामीले गरेका काम त हात्तीका मुखमा जिरा जस्ता मात्रै हुन्। यस्ता हजारौँ उद्योग हुनुपर्छ। केही कुरामा भने हामीले ध्यान दिनैपर्छ। पहिलो कुरो हो गुणस्तरमा सम्झौता गर्नुहुँदैन। दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ। त्यसो गर्न सके हामी जति उत्पादन त्यति धेरै फाइदाको अवस्थामा जान्छौँ।
प्रश्नहरू: (अ) उत्पादनमा किन विकल्प खोज्नुपरेको हो? (आ) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो?
अथवा
(ख) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : अक्षता हेरे झैँ पत्रिकाका फाइल हेर्दै गर्न थाल्यो हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे। आधाजति पुन्याएपछि राक्षसजस्तो भिनलाग्दो भाइरस भेट्यो। फोलाबाट खरानी निकाल्यो। मन्त्र फुकेर रेखा हाल्यो। तथा माझासलाई उठाएर खरानीको घेराभित्र थेच्यायो। फेरि स्क्यान गर्न थाल्यो। स्क्यानिङ गर्न थालेपछि केही भाइरस भागेर कुनाकुनामा पस्दा रहेछन्। करिब एक लाख फाइल स्क्यान गरेपछि पाँचथरिका भाइरस भेट्यो ती भाइरसले लगभग चार सय फाइलमा सङ्क्रमण गरेका थिए। थुप्रै फाइल मर्मत भए मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोर्खेले डिलिट गर्न सुफाब दियो। पेसलले 'ओ के' लेखेका ठाउँमा माउसको चुच्चो लगेर थिच्यो। भाइरसले बिगारेका र मर्मत हुन नसकेका फाइल जति स्वाित्त उडायो।
प्रश्नहरू: (अ) 'भाइरसलाई उठाएर खरानीको घेराभित्र थेच्यायो' भन्नुको तात्पर्य के हो? (आ) गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि गरेका प्रयास के के हुन्?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) "नारी सङ्घर्षका प्रतिमूर्ति हुन्" भन्ने भनाइप्रति तपाईंको प्रतिक्रिया के छ? 'विरहिणी दमयन्ती' कथाका आधारमा लेख्नुहोस्।
अथवा
(ख) नेपालमा रहेका विविधतालाई पर्यटनमा कसरी उपयोग गर्न सकिन्छ? 'नेपाली पहिचान' पाठका आधारमा आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
(क) 'एक चिहान' उपन्यासमा प्रस्तुत नेपाली सामाजिक अवस्थाको समीक्षा गर्नुहोस्।
अथवा
(ख) आमाको सपना के हो र त्यो कसरी पूरा हुन सक्छ? 'आमाको सपना' कविताका आधारमा विवेचना गर्नुहोस्।
कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :
(क) नेपालको जलसम्पदा र आर्थिक विकास
(ख) मेरो देश : मेरो पहिचान
(ग) जीवनमा शिक्षाको महत्त्व